समूहलाई झापा, मोरङ र सुनसरीका समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेल समूहले गरेको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको बताउँछिन्।
पथरी– आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हुँदै गएका छन्। आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन्। सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन।
पछिल्लो समय पथरी शनिश्चरे–३ शान्ति टोलका महिलाहरू यी नाचको संरक्षण र पुस्तान्तरणमा लागिपरेका छन्। यहाँ रहेको ‘महिला जागरूक हरिकीर्तन तथा सँगिनी समूह’ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणमा लागेका छन्। समूहले नयाँ पुस्तामा जानकारी दिन प्रत्येक हप्ताको मंगलबार साँझ सँगिनी प्रशिक्षण कार्यक्रम नै शुरू गरेको जनाएको छ।
समूहले विगत ४ वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ। समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन्। यी समूहले स्थानीयस्तरमा मात्रै होइन हाल मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन्। मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागिपरेको महिला जागरूक हरिकीर्तन तथा सँगिनी समूहलाई पुरुषहरूले समेत साथ दिन थालेका छन्। विवाह गरेर गएका महिलाहरूले आफ्ना मनमा लागेका वेदनाहरू गीतका माध्यमबाट पोख्ने ठाउँ नै हो सँगिनी।
सँगिनी परापूर्वकालदेखि महिलाका सुख दुःखका साथै ढिकी, जाँतो पिस्दादेखि घरमा श्रीमान्, सासू, नन्द, देवर, जेठाजु र समाजमा भएका थिचोमिचोका वेदना बुहारी आमाहरूले गीतका माध्यमबाट पोख्ने गरेको बताउँछिन्, समूहकी अध्यक्ष देवीमाया पोखरेल। ब्राह्मण र क्षेत्री समुदायमा नाचिने सँगिनीसँगै बालन पश्चिमा संस्कृतिको प्रभाव समाजबाट हराउँदै गएको उनको भनाइ छ।
झन्डै डेढ दशकअघिसम्म गाउँघरमा सँगिनी र बालन नाच्ने गरे पनि पछिल्लो समय भने गाउँघरमा नाच्न छोडेको स्थानीय भुवनेश्वर पोखरेलले बताइन्। अचेल भने गाउँका थोरै महिलाहरू भेला भएर खेल्दै आएको सँगिनी नृत्यले संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्याएको उनी बताउँछिन्।
कुनै समय नेपालमा निकै चर्चित मानिएको सँगिनी नाच पछिल्लो समय एकादेशको कथा जस्तै बन्न लागेको अवस्थामा स्थानीय समूह संरक्षणमा जुट्नु प्रशंसनीय रहेको पथरी शनिश्चरे–३ का शिक्षक खगेन्द्र लुइँटेलको भनाइ छ।
“पहिले मान्छेहरू टाढाटाढाबाट बालन र सँगिनी नाच हेर्न पुग्थे। विशेषगरी बिहे, पूजा, पुराण समारोह, उत्सव आदिमा सँगिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए”, उनले स्मरण गरे, “पछिल्लो समय भने यसको संरक्षण र पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा थियो। विगत पाँच वर्षदेखि स्थानीय महिला दिदीबहिनीहरू संरक्षणमा जुटेपछि अचेल भने महत्त्वपूर्ण उत्सवमा नाच्न थालिएको छ। यो निकै सराहनीय काम हो।”
चौध वर्षअगाडि भजनकीर्तन गर्न बनेको समूहले त्यसका साथै लोप हुँदै गरेको सँगिनीको पनि संरक्षण गर्नुपर्छ भनेर पाँच वर्षदेखि सँगिनी प्रशिक्षणका साथै ठाउँठाउँमा नृत्य देखाउँदै आएको सञ्चारकर्मी अर्जुन काफ्लेले बताए। “यहाँ सँगिनी प्रशिक्षण र नाच देखेर अघिल्लोपटक स्थानीय तहले समेत आर्थिक सहयोग गरेको थियो। यसको महत्त्व बिस्तारै बुझ्न थालिएको छ। पथरी शनिश्चरे–४ र ८ मा पनि सिको गर्न थालिएको छ, यो राम्रो कुरा हो”, उनले भने।
सामूहिक रूपमा शुरूआत गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाको बुझाइ छ। उनी छन्छन्, “यसले हामीलाई हाम्रो संस्कारबारे थप जान्ने मौकासमेत मिलेको छ। पश्चिमा संस्कृतिको प्रभावका बीच सँगिनी नाच के हो भनेर हाम्रो पुस्तालाई चिनाउन ठूलो मद्दत मिलेको छ।”
पथरी शनिश्चरे–३ शान्तिटोलका ३५ परिवार यो कार्यमा सहभागी छन्। समूहलाई झापा, मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेलले समूहले सँगिनी संरक्षणमा देखाएको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको बताइन्।
प्रशिक्षक ६८ वर्षीया नर्मदा खतिवडा मौलिक तथा परम्परागत नाचका रूपमा नाच्दै आएको सँगिनी बिस्तारै हराउँदै गएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको बताउँछिन्। समूहले नाच संरक्षणका लागि आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तामा सिकाउने भनेपछि आफू पनि सिकेको सीप सिकाउन नियमित रूपमा समूहमा आउने गरेको उनले बताइन्।
“हराउँदै गएको मौलिक संस्कारसहितको परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ । यदि यसो नगर्ने हो भने यस्ता संस्कार र संस्कृति एकादेशको कथा हुन सक्छन्। त्यसैले मौलिक संस्कार बोकेका सँगिनी र बालनलाई महिला जागरूक हरिकीर्तन तथा सँगिनी समूहले जस्तै राज्यबाट आवश्यक सहयोग हुन आवश्यक छ”, खतिवडाले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
