मधेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार मधेश प्रदेशमा धनुषाबाट सबैभन्दा बढी उजुरी परेको छ।

जनकपुरधाम– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेश प्रदेशको विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये ६ हजार ४७२ उजुरी फर्छ्योट गरेको जनाएको छ।

सो कार्यालयबाट प्राप्त प्रतिवेदनका अनुसार सो कार्यालयमा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेश प्रदेशको आठ जिल्लाबाट कुल आठ हजार ५२९ उजुरी दर्ता भएको थियो। जसमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो।

प्रतिवेदनमा उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार ४२२ उजुरी परेकामा एक हजार ५६ उजुरी फर्छ्योट भएको थियो।

त्यसैगरी, दुई वर्षमा बाराबाट एक हजार २०७ उजुरीमध्ये ८८७, सप्तरीबाट एक हजार १७० उजुरीमध्ये ९७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये ७३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये ८३४ उजुरी फर्छ्योट भएको जानकारी दिइएको छ।

त्यस्तैगरी, पर्साबाट नौ सय ५६ उजुरीमध्ये ६९१, सिरहाबाट ८८१ उजुरीमध्ये ६८७ तथा सर्लाहीबाट ८३६ उजुरीमध्ये ६४२ उजुरी फर्छ्योट भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ।

असोजमा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नो कार्यालयको वार्षिक प्रतिवेदनसमेत बुझाएका थिए।