धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते

दुर्घटनामा परी घाइते भएका आठ जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बस आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो।

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। बसचालक रुपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए।