विराटनगरलाई १ विकेटको हराउँदै काठमाडाैँले कायम राख्यो प्लेअफ सम्भावना

विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडाैँले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गर्दै आफ्नो प्लेअफ सम्भावना कायम राखेको छ।

आइतबारको पहिलो खेलमा विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडाैँले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौँका लागि प्रतिक श्रेष्ठले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन जोडे। यस्तै, राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे। यस्तै, जेहार्ड एरास्मसले १२, दिपेश कंडेलले ११ तथा माइकल लेभिटले १० रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २/२ विकेट लिए।

त्यसअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै ११७ रनमा समेटिएको थियो। राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडेका थिए भने ओपनर दिपक बोहोराले २० र स्कट एडवार्डसले १५ रन बनाए। 

काठमाडौँका लागि जेहार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १/१ विकेट लिए।

यो जितसँगै काठमाडौँको प्लेअफ सम्भावना कायमै छ। सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौँले प्लेअफमा स्थान बनाउँनेछ। यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन्।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्नेछन्।