एनपीलमा आइतबारको दोस्रो खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको छ।
काठमाडौँ– सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो।
जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ।
एनपीलमा आइतबारको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अल आउट भयो।
पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। गौस ठूलो सटको प्रयास गर्दा सेफ अलि जेबको बलमा आरिफ शेखबाट समातिए। अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक रहेको थियो। सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाए।
पहिलो ओभरको अन्तिम बलमा दिनेश खरेलले जीवनदान पाएका थिए। हर्मित सिंहको बलमा स्कट कुगेलेनले उनको क्याच ड्रप गरेका थिए। उनले त्यस समय ४ बलमा ४ रन बनाएका थिए। थप ११ रन जोडेर दिनेश स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट समातिए।
दिनेश आउट भएको ओभरमा कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली स्कटकै बलमा आउट भए। त्यसपछि क्रिजमा आएका दिलीप नाथ ४ बलमा १ रन बनाउँदै कुगेलेनको बलमा आउट भए। एघारौँ ओभरको पहिलो बलमा जेन मल्लिक १५ बलमा १० रन बनाउँदै आउट भए। मल्लिकलाई हर्मित सिंहको बलमा विकेट किपर विनोद भण्डारीले स्टपिङ गरे।
छैटौँ विकेटका लागि किरण ठगुन्ना र रेमन राइफरले ७० रनको साझेदारी गरे। राइफरले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे। राइफर ठूलो सटको प्रयासमा बाउन्ड्रीमा नरेन साउदबाट क्याच आउट भए। सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रनको योगफल तयार गर्यो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। ब्रान्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे। उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए।
१८.१ ओभरमा क्रिजमा रहेका इशान पाण्डे रिटायर्ट आउट हुँदै स्कट कुगेलेन क्रिजमा आएका थिए। इशान ११ बलमा १० रन जोड्दै रिटायर्ट आउट भएका थिए। एनपीएलमा इशान रिटायर्ट आउट हुने पहिलो खेलाडी हुन्।
कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । उनी सागरबाट एलबीडब्लू भए । विनोद भण्डारी १४ रन जोड्दै कप्तान कुशलको बलमा नै आउट भए। हर्मित सिंहले १३ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए।
पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए।
सुदूरपश्चिम यो खेलमा जितसाथ शीर्ष स्थानमा उक्लिँदै प्लेअफ प्रवेश गर्ने दोस्रो टोली बनेको हो। जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो। समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णालीको सामना गर्नेछ। सोमबार लिगमा एक मात्र खेल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
