धरानमा फस्टाउँदै सिद्राको व्यापार

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारीका पसल छन्। सिद्राका पारखी टाढा–टाढाबाट यहाँ किन्न आउँछन्। गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेको छ।

धरान– मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली पुग्छिन्। गल्लीमा बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो। सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएकी छन्।

“गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो शुरू भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ,” उनले भनिन्। शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो। प्रतिकिलो ६०० देखि १ हजार २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। “मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु। महिनामा खर्च कटाएर ४० हजार रुपैयाँसम्म बचत हुन्छ।” 

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन्। सिद्राका पारखी टाढा–टाढाबाट यहाँ किन्न आउँछन्। शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि  सिद्रा व्यापार फस्टाउने बताउँछन्। उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ।

हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन्। पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री हुन्छ। धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए। यही व्यापारबाट उनले पनि घरखर्च धानेका छन्। 

“नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ। मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु,” उनले भने। धेरै जसो पहाडी जिल्लामा सिद्रा खपत हुने गरेको उनको भनाइ छ। 

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ। सो अवधिमा नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए। नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गर्छन्। सिद्रा धरानका होटलमा अचारका लागि खपत हुने गर्छ। आफन्तलाई कोसेलीका रूपमा पनि सिद्रा खरिद गरेर लैजाने चलन छ। 

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको पनि छ। धरानमा सिद्राको व्यापार गर्ने शाही र श्रेष्ठ जस्ता व्यापारीको संख्या एक दर्जनभन्दा बढी छन्। पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन्।