झापामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार झापाको गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्। 

भद्रपुर– दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार झापाको गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्। 

यसैगरी मोटरसाइकल चालक मोरङको रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बीन्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए। 

मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।