पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत

मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ। करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको शुरूआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ। करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ११.५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड ६ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

चालुगत शीर्षकमा मंसिर मसान्तसम्मको खर्च ३१.८७ प्रतिशत छ। यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म ३ खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ खर्च भएको हो ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४१.३२ प्रतिशत खर्च भएको छ। मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो। उक्त शीर्षकमा हालसम्म १ खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ बराबर खर्च भएको हो।

मंसिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७.५७ प्रतिशत अर्थात् ४ खर्ब पाँच अर्ब ७७ करोड ३० लाख राजश्व संकलन भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ।

त्यस्तै, यसवर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म कुनै पनि अनुदान लिएको छैन।