ट्विटरको ‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’ भंग

‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’का प्रतिनिधिहरूले बैठक बस्ने तयारी गरिरहेकै बेला काउन्सिल नै भंग भएको सूचना इमेलमार्फत पठाइएको थियो।

तस्वीर : एपी

ट्विटरको सल्लाहकार समूह ‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’ भंग गरिएको छ। ट्विटरले सन् २०१६ मा गठन गरेको करिब १०० जना स्वतन्त्र, मानवअधिकार र अन्य समूहका मानिस रहेको सो काउन्सिललाई एलन मस्कले भंग गरेका हुन्।

ट्विटरमार्फत घृणा फैलाउने, बालबालिकाको शोषण, आत्महत्या, आफैँ पीडा दिने व्यक्ति तथा अन्य समस्या समाधानका विषयमा सो काउन्सिलले मार्गनिर्देश गर्दै आएको थियो।

‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’का प्रतिनिधिहरूले सोमबार बैठक बस्ने तयारी गरिरहेकै बेला काउन्सिल नै भंग भएको सूचना इमेलमार्फत पठाइएको थियो।

काउन्सिलका कर्मचारीहरूलाई आएको इमेलमा ट्विटरमा बाहिरी दृष्टि ल्याउने प्रयासमाथि पुनर्मूल्यांकन गर्नुपर्ने बेला आएको र काउन्सिल यसका लागि सही संरचना नभएको उल्लेख गरिएको एपी न्यूजले उल्लेख गरेको छ।

“ट्विटरलाई कसरी सुरक्षित र सुसूचित गर्ने थलो बनाउने र पहिलेको तुलनामा कसरी तीव्र गतिमा अघि बढ्ने भन्नेमा हामी केन्द्रित छौँ र हाम्रो लक्ष्य प्राप्तिका लागि हामी तपाईंहरूका नवीन विचारलाई निरन्तर स्वागत गरिरहनेछौँ”, कर्मचारीलाई पठाइएको इमेलमा भनिएको छ।

यस स्वयंसेवी समूहले ट्विटरमा घृणा, दुर्व्यवहारका साथै अन्य नोक्सानीबारे आफ्नो विज्ञता र मार्गनिर्देश प्रस्तुत गर्दै आएका थियो, तर अब कुनै विशेष सामग्रीबारेको विवादलाई समीक्षा गर्ने निर्णायक संयन्त्रको अभाव रहने एपीले जनाएको छ।

ट्विटर किनेलगत्तै नयाँ मालिक एलन मस्कले महत्त्वपूर्ण निर्णयका लागि ‘कन्टेन्ट मोडरेसन काउन्सिल’ गठन गर्ने बताएका थिए। तर, पछि धारणा परिवर्तन गरेका थिए। मस्कले ट्विटर किनेपछि यसको संरचना, कर्मचारी र कार्यशैलीमा परिवर्तन भइरहेका छ।