हिउँदमा पनि हटेन बागमती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि बागमती नदी देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

ललितपुर– बागमती करिडोरअन्तर्गत ललितपुर सानेपामा रहेको कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन सूचना टाँस गरिएको छ। सूचनाको बेहोरा यस प्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।’

काठमाडौँ उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुलाई बागमती करिडोरले ठूलो राहत त दिएको छ, तर कालोपुलमुनि बागमती नदीको देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

पुलमुनिको एकतर्फी सडकमा हिउँद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती बेहोर्दै आइरहेका छन्। बर्खाका बेला जमेको पानी अझै हटेको छैन। दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ। उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन्।

पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए। “बागमती कारिडोरको स्तरोन्नति र बागमती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको हो तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन,” उनले भने।

कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठले बताए। “वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवारी निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट बेहोर्नु परिरहेको छ,” उनले भने।