राजविराजमा रात्रिकालीन उडान शुरू

रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले उक्त विमानस्थलमा व्यावसायिक रूपमा रात्रिकालीन उडान शुरू गरेको हो।

काठमाडाैँ– सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान शुरू भएको छ। रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले उक्त विमानस्थलमा व्यावसायिक रूपमा रात्रिकालीन उडान शुरू गरेको हो।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा शुरू भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

“अब राजविराज छायामा पर्नेछैन। विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ। यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन्,” उनले भने।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गरे।

राजविराज विमानस्थलमा यसअघि बुद्ध एअरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो। नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एअरले गत शुक्रबार रात्रिकालीन उडानको परीक्षण गरेको थियो। उक्त उडान सफल भएसँगै आज काठमाडौँदेखि राजविराजको रात्रिकालीन व्यवसायिक उडान शुरू गरेको हो।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ। भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा रात्रिकालीन उडान हुन्छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आईएफआर नियमअनुसार उडान शुरू भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरूले छुटकारा पाउनेछन्।

राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलका रूपमा पनि प्रयोग गर्न सकिने बुद्ध एअरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए।

राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए। राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग छ।