सालझण्डी–ढोरपाटन सडक: १४ वर्षमा ३० प्रतिशत काम

रुपन्देहीको सालझण्डीबाट शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङलाई जोडेको छ।

ढोरपाटन– सालझण्डी–ढोरपाटन सडकखण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्न २०६७ सालमा शुरू भएको कामले गति लिन नसकेको हो। 

रुपन्देहीको सालझण्डीबाट शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो।

सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको छ। रुपन्देहीमा ४.५ किमी र अर्घाखाँचीमा १३.५ किमी सडक कालोपत्र भएको हो। सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाका अनुसार पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेको छ। 

बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ। रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३.५ किमी कालोपत्र भइरहेको छ। पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको छ। 

त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म ७ किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको ८.२ किमी सडक कालोपत्र भइरहेको थापाले बताइन्। अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात-सात गरी ३२ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन सकेको छैन। पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनको भनाइ छ।

ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताए। साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ। 

बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसक्ने सुनारले बताए।