धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ। सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले यो ताल ओझेलमा परेको छ।
म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकको पर्खाइमा छ। सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो।
समुद्री सतहबाट दुई हजार ६७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्त्व छ। टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये पाँच प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताए। “वार्षिक चार लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्,” उनले भने, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो।”
दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट पाँच किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ। लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताए। हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुंगे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन्।
धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ। तालको चारैतिर सल्ला र धुपीका रुखको जंगल छन्। शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो। टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो।
बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताए। “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ,” उनले भने, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ।”
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा १८६ प्रजातिका चराको बासस्थान छ। यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए।
उनका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन। त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताउनुभयो। मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन्। तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ। जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताए।
थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, संघीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताए। गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ। टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुुफामा पनि पूर्वाधार निर्माण भएको छ।
यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो। एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ। ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ। पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेस्टुरेन्ट छन्।
टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अर्ग्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताए। मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ। कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुदाय बसाइँसराइ गरेर गएका गौचनको भनाइ छ।
टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बीच भागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयले माग गरेका छन्। साथै कोखेठाटीमा मोटरेबल पुल निर्माणको पनि माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
