अमेरिकाको स्कुलमा गोली चल्दा २ जनाको मृत्यु, ६ घाइते

घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

अमेरिकाको विस्कन्सिन राज्यको निजी क्रिश्चियन स्कुलमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। 

सोमबार राति भएको उक्त आक्रमणमा अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक शिक्षक र विद्यार्थी रहेको प्रहरीले जनाएको छ। 

सोही स्कुलमा अध्ययनरत १५ वर्षीया छात्राले सोमबार राति अन्धाधुन्ध गोली चलाएको म्याडिसनका प्रहरी प्रमुख शोन बार्नेसले पुष्टि गरे। दुई जनाको मृत्यु र ६ जनालाई घाइते बताएपछि छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

विद्यालयमा अन्धाधुन्ध गोली चलेपछि दुई कक्षामा अध्ययनरत छात्राले फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन्।