वर्षाका कारण खेल रद्द हुँदा नेपाल र भारतले बाँडे अंक

यसअघि आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

काठमाडाैँ– एसीसी यू १९ महिला एशिया कपमा नेपाल समूह उपविजेता बन्दै सुपर ४ मा पुगेको छ। 

नेपाल र भारतबीच आज भएको खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडे। भारत र नेपालले समूहबाट समान तीन/तीन अंक बटुलेका छन्। भारतसँग अंक बाँडे पनि नेट रनरेटका आधारमा नेपाल समूह उपविजेता बन्यो। 

यसअघि आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर ४ मा स्थान पक्का गरेको थियो। पाकिस्तान अंकविहीन भएर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

आज भारतसँग भएको दोस्रो खेलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भएपछि खेल रद्द भएको हो। 

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो। कप्तान पूजा महतोले सर्वाधिक २५ रन जोडिन्। अलिसाकुमारी यादव २० रनमा अविजित रहिन्। सोनी पाख्रिनले ८ तथा साना प्रभिनले ९ रनको योगदान दिइन्। भारतका लागि परुनिका सिसोडियाले ४ विकेट तथा आनन्दिता किशोरीले १ विकेट लिइन्।

अब नेपालले सुपर ४ मा बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसँग खेल्नेछ।