आँधीखोला तर्न ४० वर्षदेखि फट्केको भर

स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा पुल नहुँदा बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ।

वालिङ– स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्केमार्फत आवतजावत गर्न थालेको झन्डै ४० वर्ष पूरा भएको छ।  स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्छन्। 

खोलामा पुल नहुँदा फट्केकै भर पर्नु परेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट–५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए। विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह्राथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए। 

“जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलेकाहीँ खोलाले बगाउनेसमेत गर्थ्यो,” उनले भने, “खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ।” स्थानीय, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको छ। खोलाको फैलावटका आधारमा भकारी बनाइने उनले बताए। “खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको संख्या घटीबढी हुने गर्छ,” उनले भने, “कहिले सात–आठवटा भकारी बुने पुग्छ, कहिले २०–२२ पनि बुन्नुपर्छ।” पहिला–पहिला बाँस खोज्न टाढाका गाउँ पुग्नुपर्थ्यो। केही वर्ष अघिदेखि विद्यालय आफैले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झन्झट हराएको छ।

विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण शुरू भएको पनि वर्षौं भयो। पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ। डुंगाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको हो। 

पायक पर्ने यस ठाउँमा झोलुंगे पुलका लागि पटक–पटक माग गरिए पनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ। “हिउँदमा फट्के बनाउने र वर्षायाम शुरू हुने बेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ,” उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ।” एक पटक फट्के बनाएपछि झन्डै सात–आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ।