परराष्ट्रमन्त्री देउवा बर्लिनबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

फाइल तस्वीर

काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन्। जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन्।

सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैंगिक अल्पसंख्यकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरिन्। साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन्।