कालोपत्र सडकले जोडियो सर्दी, सहज बन्यो यात्रा

विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

त्रिवेणी– नवलपरासीको सर्दी गाउँ कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ। विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताए। “गाउँपालिकाले दुम्किबास–डाँडाजोर–सिदे्र हुँदै कोल्टाडीसम्मको करिब १४ किलोमिटर सडक कालोपत्र गरेको छ,” उनले भने, “दशकौँदेखि निर्माण हुन नसकेको सडक हामी आएसँगै चुनावी प्रतिबद्धताअनुसार सम्पन्न भएको छ। हाल एक छिनमा सरर सर्दी पुग्न सकिन्छ।” 

पालिकाका इन्जिनियर शम्भु केसीले करिब १७ करोड रुपैयाँ लागतमा सडक स्तरोन्नति गरिएको बताए। यसले स्थानीयको जनजीवन सहज बन्नुका साथै अन्य गतिविधिमा पनि बढोत्तरी भएको उनको भनाइ छ। स्थानीय विष्णुमाया भुजेलले सडक बनेसँगै वर्षौंदेखिको समस्याबाट मुक्ति पाइएको बताइन्। “बिरामी पर्दा, कतिपय अवस्थामा सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटो मै ज्यान जान्थ्यो, अहिले त बाटोले धेरै सुविधा भएको छ,” उनले भनिन्। 

यस सडकले विनयी त्रिवेणी वडा नं १, २, ३, ४ र ५ का बासिन्दालाई  सहज भएको छ। मुख्यगरी वडा नं ३, ४ र ५ का बासिन्दालाई सहज रूपमा दुम्किबास आउन सुविधा पुगेको छ। सडक कालोपत्र भएसँगै सर्दी–दुम्किबासको यात्रा करिब २० मिनेटमै तय हुने गरेको छ। 

गाउँपालिका अध्यक्ष गिरीले क्रमशः सबै वडालाई राजमार्ग र पालिकासँग सहज रूपमा सुविधायुक्त सडकले जोड्ने योजना रहेको बताए। विनयी त्रिवेणीसँगै पूर्वी पाल्पाका बासिन्दालाई समेत यस सडकले सुविधा थपेको छ।