यू१९ एशिया कप: नेपाल र श्रीलंकाले अंक बाँडे

यू१९ एशिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

काठमाडौँ– मलेसियामा जारी महिला यू१९ एशिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अंक बाँडेका छन्।

बिहीबारको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो। पहिलो ओभर सकिएलगत्तै शुरू भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो।

नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट लिएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले समान एक/एक अंक बाँडेका हुन्।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो।

यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका थिए।

सुपर–४ मा नेपालसहित भारत, बांग्लादेश र श्रीलंका छन्। नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बांग्लादेशको सामना गर्नेछ।