५ वर्षदेखि थन्किएका बस परीक्षणका रूपमा सञ्चालन

एडीबीको अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनी– लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोग स्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको बिहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ। यसअघि कानूनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। 

बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले एशियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

अनुदान सहयोगमा पाँच बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई विसं २०७७ मंसिर ९ गते हस्तान्तरण गरेको थियो।

यसअघि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानूनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो। दाताले दिएका सवारीसाधनलाई विकास कोषले बिहीबारदेखि परीक्षणका रूपमा दानपेटिका राखेर सञ्चालन गरिएको जनाएको छ।

प्रतिनिधिसभाका सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, प्रदेशका सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गरे। बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुने जनाइएको छ। बस चढ्ने यात्रुले स्वैच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्नेछन्।

बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानूनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस आगामी दिनमा निरन्तर सञ्चालन हुने बताए। उनले तत्काललाई दानपेटिकमार्फत सञ्चालनमा आएको सेवा आगामी दिनमा निश्चित खाका बनाएर सेवा प्रवाह गर्ने बताउँदै यसले पर्यटक तथा यात्री लाभान्वित हुने विश्वास व्यक्त गरे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले यसअघि कानुनी द्विविधाका कारण नियमित बस सञ्चालन गर्न नसकेको बताउँदै अब पनि कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनलाई आग्रह गरे। कोषका सदस्य–सचिव सानुराजा शाक्यले सेतो नम्बर प्लेटलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गर्न नसक्दा सञ्चालनमा समस्या आएको बताउँदै आगामी दिनमा दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसअघि ती सवारीसाधन सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्व तीन सदस्यीय कार्यदल बनाएर कार्यविधि तयार गरिएको थियो। सरकारी नम्बर प्लेटलाई हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् निर्णयले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरिदिएको थियो । उक्त व्यवस्था समयमा कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकिएको कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि कोषले विसं २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो। उक्त समयमा बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ यात्रीले निःशुल्क बसको सेवा लिएका कोषले जनाएको छ।