भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल खेल्न पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल खेलाइने आईसीसीले जनाएको छ।

भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हप्तौँको विवादपछि बिहीबार जानकारी दिएको छ।

बदलामा पाकिस्तानले पनि भारतमा आयोजना हुने आगामी आईस‍ीसी प्रतियोगिता अन्य देशमा खेल्नेछ। यसको बारेमा अझै निर्णय हुन बाँकी छ।

आईसीसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२४–२०२७ को अधिकार चक्रमा आईसीसी प्रतियोगितामा दुवै देशले आयोजना गर्ने भारत र पाकिस्तानका खेल तटस्थ स्थानमा खेलिनेछ। यो आगामी आईसीसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ (पाकिस्तानद्वारा आयोजना गरिएको) मा लागू हुनेछ।” 

यो सम्झौता भारतले आयोजना गर्ने आईसीसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलंकाले आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ सम्म विस्तार हुने विज्ञप्तिमा उल्लेख छ। 

सुरक्षा चिन्ता र राजनीतिक तनावका कारण पाकिस्तानमा आफ्नो टोली पठाउने छैन भनी भारतले आईसीसीलाई बताएपछि यो घोषणाले च्याम्पियन्स ट्रफीलाई लिएर एक महिना लामो गतिरोध समाप्त भएको छ। 

तर पाकिस्तानले भने २०२३ को आईसीसी विश्वकपमा भारतमा खेलेको थियो।