अल्भारेज र मेसी चम्किए, अर्जेन्टिना ८ वर्षपछि फाइनलमा

कप्तान लियोनल मेसी र फर्वार्ड जुलियन अल्भारेजले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना विश्वकपकाे फाइनलमा पुगेकाे छ।

तस्वीर : फिफा

काठमाडौँ– साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना आठ वर्षपछि फिफा विश्वकपको उपाधि नजिक पुगेको छ। लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलको नतिजामा पराजित गर्‍याे।

अर्जेन्टिना यसअघि सन् २०१४ मा ब्राजिल विश्वकपकाे फाइनलमा जर्मनीसँग पराजित भएको थियो। अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे। कप्तान लियोनल मेसीको नाममा एक गोल रह्यो। खेलको ३४औं मिनेटमा मेसीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेसीले सहजै गोल गरे। त्यसको ५ मिनेट नबित्दै अल्भारेजले गोल गर्दै अग्रता दोब्बर पारे। काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरेका थिए। 

खेलको ६औँ मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुर्‍याएका हुन्। मेसीले बाइलाइन नजिकबाट दिएको पासलाई ६ यार्ड बक्स भित्र अन्र्माक रहेका अल्भारेजले गोलमा परिणत गरे। 

अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।