४३ वर्षमा १२ पटक विवाह र सम्बन्ध विच्छेद गर्ने जोडीमाथि ठगीको अनुसन्धान

अस्ट्रियाली एक दम्पतीले विगत ४३ वर्षदेखि ठगीको लागि विवाह र सम्बन्ध विच्छेदको नाटक रच्दै आएको खुलेको छ।

काठमाडौँ– वैवाहिक सम्बन्ध राम्रै चलिरहेको छ। छिमेकीहरूले पनि झगडा भएको र छुट्टिएर बसेको देखेका छैनन्। तर पनि एउटै जोडीले १२ पटकसम्म सम्बन्ध विच्छेद र त्यति नै पटक विवाह गरे! आखिर किन?

अस्ट्रियाली एक दम्पतीले विगत ४३ वर्षदेखि ठगीको लागि विवाह र सम्बन्ध विच्छेदको नाटक रच्दै आएको खुलेको छ। सन् १९८१ मा आफ्नो श्रीमानको मृत्यु भएपछि महिलाले अर्को बिहे गर्छिन्। पहिलेका श्रीमानको निधनपछि विधवाको हैसियतमा पाउने गरेको पेन्सन अर्को बिहे गरेपछि रोकिने कानून छ। तर ती महिलाले आफ्नो नयाँ श्रीमानसँग मिलेर पुरानो श्रीमानको पेन्सन लिइरहिन्।

ओडिटोरी सेन्टरको रिपोर्टअनुसार प्रहरी अनुसन्धानमा यी दम्पतीले प्रत्येक ३ वर्षमा सम्बन्धविच्छेद र पुनः विवाह गर्ने गरेको खुलेको छ। यसरी महिलाले आफ्नो पहिलो श्रीमानको मृत्यु पछि प्राप्त गरेको २७ हजार युरो (३८ लाख रुपैयाँ) को विच्छेद पेन्सन बारम्बार प्राप्त गरिरहेकी थिइन्।

यो ठगीबाट ४३ वर्षमा दम्पतीले कुल ३.२६ लाख युरो (४ करोड ६१ लाख रुपैयाँ) पेन्सन लिएको पनि अनुसन्धानमा खुलेको छ। अहिले दुवैविरुद्ध ठगीको मुद्दा चलिरहेको छ, अस्ट्रियाको कानूनअनुसार विधवाले अर्को बिहे नगरेसम्म यो पेन्सन पाउन सक्छन्। पेन्सन लिने बेला अर्को बिहे नगरेको प्रमाण पेस गर्नुपर्छ। तर बिहे गरेपछि भने पेन्सन आउन रोकिन्छ।

प्रत्येक तीन वर्षमा पेन्सनको रकम लिन जाँदा सम्बन्ध विच्छेद गरेको कागज देखाउने गरेपछि बिमा अधिकारीहरूले उनीमाथि पहिले नै शंका गरेका थिए। पेन्सन बीमा संस्थानले महिलालाई विधवा पेन्सन दिन अस्वीकार गर्दा सन् २०२२ को मेमा यो कुरा बाहिर आएको थियो।