हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने

उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।

बागमती– हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ। उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।

उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यसलगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए। “उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ,” अध्यक्ष भण्डारीले भने, “हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादनको कार्य शुरू गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो।”

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए। “हामीसँग कच्चापदार्थको कुनै अभाव छैन,” अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ।”

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ। आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो। यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन शुरू गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए। विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन शुरू गरेको थियो।

धेत्रेदमार र गोदामडाँडा सडकमा झोलुंगे पुल
मकवानपुरको बकैया गाउँपालिका–१२ को धेत्रेदमार र गोदामडाँडालाई सडक सञ्जालमा जोड्न झोलुंगे पुल निर्माण गर्न लागिएको छ।

गाउँपालिकाको समन्वयमा दातृ निकाय इस्थर बेन्जामिन स्मृति संस्थाको ४० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको सो झोलुंगे पुलको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शिलान्यास गरे।

धेत्रेदमार र गोदामडाँडा सडकमा पुल नहुँदा खासगरी वर्षायामको समयमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। झोलुंगे पुल निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन्।

“पुल नहुँदा हामीलाई आवतजावत गर्न असाध्यै समस्या भइरहेको थियो”, स्थानीय सुदीप अधिकारीले भने, “झोलंगे पुल निर्माण भएपछि वर्षांदेखि समस्या भोग्दै आएको समस्याबाट मुक्ति पाउने विश्वास लिएका छौँ।”

झोलुंगे पुलले आवतजावतमा सहजता मात्र नभई यस क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुग्ने उनको भनाइ छ। गाउँपालिकाले विकासमा सबै नागरिकको पहुँच पुर्‍याउन सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको गाउँपालिका अध्यक्ष लामिछानेले बताए। आगामी दुई महिनाभित्र पुलको निर्माणको काम सकिने गरी ठेक्का सम्झौता भएको उनले बताए।

सो झोलंगे पुल ९० मिटर लम्बाइको हुने छ। झोलुंगे पुल निर्माण भएपछि धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका स्थानीय लाभान्वित हुने उनको भनाइ छ।