पुनः देखियो मंकीपक्स संक्रमण, विमानस्थलमा सतर्कता अपनाउन निर्देशन

विदेशबाट आएका एक व्यक्तिमा मंकीपक्स संक्रमण देखिएपछि सरकारले सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन निर्देशन दिएको छ।

काठमाडौँ– नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो। 

“साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो,” उनले भने, “अहिले उनको अवस्था सामान्य छ।” ती व्यक्तिको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ। 

दुई वर्षअगाडि पनि नेपाल आएका एक जना विदेशीमा मंकीपक्स संक्रमणको देखिएको थियो। मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए।

मंकीपक्स संक्रमित भएको व्यक्ति या संक्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट, संक्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ। 

मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन्। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ।