एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपीएलको फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२:१५ बजे शुरू हुनेछ।

काठमाडौँ– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्। 

नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपीएलको फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे शुरू हुनेछ। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्। 

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन्। फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शतप्रतिशत योगदान दिने बताएका छन्। फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गरे। “त्यस्तो कुनै विशेष योजना छैन। दुई टिममध्ये एउटाले जित्ने हो। हामी मैदानमा शतप्रतिशत दिन्छौँ,” उनले भने। 

कप्तान ऐरीले अघिल्ला खेल राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे। “सबै राम्रो भइरहेको छ। पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन। प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ,” उनले भने, “हामीले योजना बनाएर खेलिरहेका छौँ। फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ।” 

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले पनि फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताए। “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ। फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ,” उनले भने। 

फाइनलमा आफूहरूले क्वालिटी क्रिकेट खेल्ने उनको भनाइ छ। “हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ,” उनले भने, “मैदानमाबाट निस्किने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ।”