सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

इनरुवा– सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। उनले १ लाख ५० हजार रुपैयाँ लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका थिए। यसबाट वार्षिक १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुन्थ्यो। वार्षिक ७२ हजार रुपैयाँ बराबरको गहुँ बेच्थे। 

पछिल्लो समय साहले गहुँखेती छोडेर मकैखेती गर्नका लागि शुरू गरेका छन्। अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेका छन्। १ लाख ५० हजार लगानीमा गरेको मकैखेतीबाट ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले सुनाए। 

वार्षिक रूपमा १०० देखि १२० क्विन्टलसम्म मकै उत्पादन हुने गरेको छ। गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ छ। सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

गहुँखेती गर्ने कृषकको संख्या घट्दै गएको छ। मकैखेती गर्ने कृषक भने बढिरहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए। आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार १२५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए। 

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उहाँले जानकारी दिए। आव २०८०/०८१ मा ३.३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७.८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको केन्द्रले जनाएको छ। 

मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहको भनाइ छ। सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगीललगायत जातका मकैखेती हुने गरेको छ।