भारतको पुराना किल्ला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्नेछ।
काठमाडौँ– तीन दशकअघि फर्पिङ नजिकै कोपुगाउँमा रहेको सानो मन्दिरक्षेत्र गोपालेश्वरबाट चोरिएको उभिएको सूर्य प्रतीकको प्रस्तर मूर्ति नयाँ दिल्लीको प्रख्यात पुराना किल्ला म्युजियम (ओल्ड फोर्ट) मा फेला परेको छ।
नवौँ शताब्दीको विशिष्ट कालिगढी मानिएको प्रस्तरमूर्तिमा सूर्य भगवान्सहित वरपर दुई सहयोगी (अटेन्डेन्ट्स) पनि रहेका छन्। कला–सम्पदाका अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल (सन्१९८९)’ मासमेत चोरिएको यो सम्पदाबारे प्रमाणिकता र विवरण उल्लेख गरिएको छ। यो कृतिको प्लेट ५९ (पृष्ठ १२०–१२१) मा उल्लेख भएअनुसार, सूर्य भगवान्को एकातर्फ एक हातमा कलम र अर्कोमा पाण्डुलिपि (दण्ड) र अर्कोले हातमा शंख लिएको (पिंगला) का रूपमा चिनाइएको छ। भगवान् विष्णु र सूर्यको साझा प्रतीकमा रहने शंखपुरुष साथमा रहेको यो आकृतिलाई दुर्लभ र विशिष्ट मानिन्छ।
हराएका/चोरिएका सम्पदाको पहिचान तथा घरफिर्तीमा संलग्न अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, भारतका थुप्रै संग्रहालय र निजी संग्रहमा समेत थुप्रै नेपाली सम्पदा पाइएको भए पनि वाङ्देलको सोध तथा तस्वीरका अरू प्रामाणिक आधारमा पुराना किला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्ने देखिन्छ ।
भारतको राजधानी नयाँ दिल्लीमा रहेको पुराना किल्ला (ओल्ड फोर्ट) म्युजियममा इतिहासमा मौर्यदेखि मुगल युगसम्मको पुरातात्त्विक सम्पदा (संग्रह)को प्रतिष्ठित संग्रहालय हो। ऐतिहासिक किल्लाभित्र बनाइएको संग्रहालयले भारत वर्षकै उत्पत्ति र विकासको क्रमलाई पुरातात्त्विक दृष्टिमा व्याख्या गर्दै आएको छ। लस्ट आर्टस् अफ नेपालका अनुसार, जर्मन इतिहासविद् जुर्गेन स्हिकले आफ्नो कृति ‘द गड्ज आर लिभिङ द कन्ट्री: आर्ट थेफ्ट फ्रम नेपाल (१९९८)’मा पनि यो चोरिएको सूर्यमूर्तिका बारेमा तस्वीरसहित विवरण उल्लेख गरेका छन्। विज्ञहरूको सोधअनुसार, यो मूर्ति सन् १९८२ को अन्त्य वा सन् १९८३ को शुरूआतमा नै फर्पिङबाट चोरिएको थियो।

यस्तै, स्वीस अध्येता उल्रिच भोन स्क्रोडरको कृति ‘नेप्लीज स्टोन स्कल्प्चर, भोल्युम–२’ मा पनि सूर्यमूर्तिको तस्वीरसहित विवरण उल्लेख गरिएको छ। फर्पिङ, कोपुगाउँ (पुरानो नाम, चापागउँ) को गोपालेश्वर मन्दिर परिसरबाट यो मूर्ति चोरिएपछि उक्त स्थानमा हाल सूर्य प्रतिलिपि मूर्ति राखेर पूजापाठ हुँदै आएको छ। उभिएको सूर्यमूर्तिको पछिल्लो तस्वीर आर्कियोलोजिकल सर्भे अफ इन्डियाले आफ्नो सन् २०१२ को क्याटलग (रिडिस्कभरिङ इन्डिया १९६१–२०११) मा पनि प्रकाशित गरेको छ। उक्त क्याटलग (प्लेट १८२) मा भने उभिएको सूर्यमूर्तिलाई भारत, राजस्थानबाट ओल्ड फोर्ट म्युजियममा ल्याइएको सम्पदा भनेर उल्लेख गरिएको छ।
“सम्भवतः पहिलोपटक भारत सरकारकै विशिष्ट संग्रहालयमा हाम्रो सम्पदा राखिएको सूचना आएको छ,” सम्पदाविद् एवं नेपाल सम्पदा पुनर्स्थापना अभियानका सदस्य रवीन्द्र पुरीले उकालोसँग भने, “यो सम्पदा घरफिर्ती गर्नेबारे पुरातत्त्व विभाग, परराष्ट्र मन्त्रालय तथा दिल्लीस्थित नेपाली दूतावाससँगको कानूनी र प्रशासनिक प्रक्रिया अघि बढाउन तत्काल पहल शुरू हुनेछ। अभियानले यसमा थप अध्ययनको प्रक्रिया अघि बढाएको छ।”

भारत स्वयंले आफ्ना हराएका वा चोरिएको सम्पदाको विदेशबाट घरफिर्ती पहल जारी राखेका कारण र इन्डिया प्राइड प्रोजेक्ट जस्ता अभियानको सक्रियताका कारण पनि नेपालबाट चोरिएर भारतको केन्द्रीय तहको म्युजियममा फेला परेको सम्पदा घर फर्काउन तदारुकता रहने पुरीले विश्वास गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
