यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना निगमको छ। त्यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउने छ।
काठमाडौँ– नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतीहारीदेखि पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ।
पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए। निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइप लाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ।
प्रमुख आचार्यले भने, “पाइप लाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगन्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्यांक निर्माण भएको छ। हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ।”
निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार ५०० किलोलिटर पेट्रोल र गत मंसिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो। अब निरन्तर पाइप लाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ। पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ।
“स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सूक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ। यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउनेछ”, कार्यालय प्रमुख आचार्यले भने, “ट्रक ट्यांकरका तुलनामा पाइप लाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ। पाइप लाइनबाट इन्धन आउन थालेपछि ट्रक ट्यांकर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ।”
पाइप लाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन। “दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,” प्रमुख आचार्यले भने, “डिजेल, पेट्रोल र मट्टितेल पाइप लाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ।”
यसलाई दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९.२ किमी रहेको छ। यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६.२ किमी रहेको छ। विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।
निगमको मधेश प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थित डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ। अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलियम पदार्थ बिक्री वितरण हुँदै आएको छ।
पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो
करिब पाँच दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदै छ। पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टितेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्यांक’ निर्माण गरिएका छन्। पाइप लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयांक’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ।
ट्रक ट्यांकरमा इन्धन भर्नका लागि थप २४ वटा पूर्ण स्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए। “२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजेल ट्यांकर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ”, उनले भने, “भण्डारण ट्यांक र नयाँ लोडिङ–वे करिब आठ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ।”
मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण शुरू गरिएको थियो। करिब ६७ हजार ७२४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो। यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ।
अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ। सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ। सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ।
अमलेखगन्ज–लोथर पाइपलाइन विस्तार छिट्टै
पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ। लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इन्डियन आयल कर्पोरेसनको विज्ञ टोली नेपाल आएको छ।
“परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ,” प्रमुख आचार्यले भने, “सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
