जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन

शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको छ।

काठमाडौँ– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन बनेको छ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपीएल च्याम्पियन बनेको हो।

पहिलो संस्करणको एनपीएल उपाधि विजेता जनकपुरले ट्रफीसहित एक करोड १० लाख प्राप्त गर्ने छ। उपविजेता सुदूरपश्चिमले ५१ लाख प्राप्त गर्ने छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

जनकपुरको जितमा ओपनर राहिरु मलिन्थाले उत्कृष्ट प्रदर्शन गरे। उनले अर्धशतकीय इनिङ्स खेले। उनले ४९ बलको सामना गर्दै ९ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाए।

अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्ने ३३ रन बनाए। हर्स ठाकेरले नटआउट ३० रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजन, दिपेन्द्रसिंह ऐरी, सैफ अलि जेब र ईशान पाण्डेले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय इनिङ्स खेले। उनले ४३ बल खेल्ने क्रममा ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए।

विनोद भण्डारीले ३१ बल सामना गर्दै १ चौका र ३ छक्कासहित ४१ रन बनाए। ब्रान्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रनको योगदान दिए। सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले ३/३ विकेट लिए। जिमी निशम र ललित राजवंशीका नाममा समान १/१ विकेट रह्यो।