रवि लामिछानेसँग २ मुद्दामा ३१ करोड बिगो दाबी, अन्य प्रतिवादीसँग कति?

पूर्वगृहमन्त्री रवि लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

गण्डकी– सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ। 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन्। 

उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको हो।

प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन्।

यस्तै, सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार रुपैयाँ र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार ८४३ बिगो माग गरिएको छ। 

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आइतबार नै मुद्दा दर्ता भएको छ। सहकारी ठगी मुद्दामा पनि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ। 

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ।