व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

कम क्षेत्रफलमा थोरै लगानीले पंगास जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढिरहेको छ।

सुनसरी– सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल व्यावसायिक माछापालनमा लागेका छन्। ६ बिघा जग्गा भाडामा लिएर उनले आफूसहित दुई जनाको साझेदारीमा ३१ लाख रुपैयाँ लगानी गरी पोखरी बनाएका छन्।

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन्। उनले भने,“वार्षिकरूपमा ११ लाख रुपैयाँसम्म आम्दानी भएको छ।” पोखरीबाट वार्षिकरूपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए। पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन्।

जिल्लाका विभिन्न स्थानमा पंगास अर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ। किसानले यसको व्यावसायिक उत्पादन शुरू गरेको उनको भनाइ छ। कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढिरहेको उनले बताए।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिए। परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले जानकारी दिए।

पंगास माछापालनको क्षेत्रफल वार्षिकरूपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ। सुनसरीमा ५८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए।