मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्षसमेत हुन्।

काठमाडाैँ– मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला परेकी हुन्।

अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्षसमेत हुन्। उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।

पछिल्लो समय 'सुनिता फाउन्डेसन' चलाइरहेकी उनी सो संस्थाकी अध्यक्ष पनि थिइन्। सन् २०१९ मा स्थापित यस फाउन्डेसनले पनि मानव बेचबिखनविरुद्ध काम गर्दै आएको छ।