एनपीएलको फाइनलमा अभद्र व्यवहार गर्ने २ जना पक्राउ

एनपीएलको फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी आदर्श गाउँपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिबीच झगडा भएको थियो। 

त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको उनले जानकारी दिए।