हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्।

खोटाङ– जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका हुन्।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

“जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मंसिर २८ गते प्रशासनमा आउनुभएको थियो,” उनले भने, “आज यस्तो खबर सुनियो।”

आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए। बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोराको शव फेला परेको प्रहरीले जनाएको छ।

आचार्य बाबुछोराको शरीरमा चोटपटक देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शंकास्पद बनेको मृतकका आफन्त एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए।

गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुई वटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन्। 

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उनीहरूको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन्।

बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनाका कारण अहिलेसम्म प्राप्त भइनसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ।