नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल बन्न अझै एक वर्ष लाग्ने भएको छ। असारसम्ममा १० पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका प्रमुख किरण कार्कीले जानकारी दिए।
२०७६ चैत १० गते ३३ महिनामा सक्ने सम्झौता भएको थियो। सो अवधि पुस ९ मा सकिँदै छ। “कोभिडका कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ”, कार्कीले भने। घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो। समय थपका लागि फाइल विभागमा पठाइएको कार्कीले बताए।
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण भइरहेको हो। चारवटा पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने छ। पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्न लागिएको छ। सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउँदा भित्ता काट्नुपर्ने भएको छ। भौगोलिकरूपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको कार्यालयले जनाएको छ।
कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्काे चुनौती छ। पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने कार्कीले बताए। जसका लागि एक करोड बजेट माग गरिएको छ। बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ। असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए। तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनामा सम्पन्न हुने कार्कीको भनाइ छ।
तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले बताए। सो सडक विस्तारसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो। हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ। पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज–१ मा मुग्लिनबाट पूर्वका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन्। प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन्।
प्याकेज–१ को ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ। पुल र नक्साङ्कनका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ। दोस्रो प्याकेजको ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख छ। बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो।
दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ। पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ। दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
