शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बांग्लादेशको कूटनीतिक नोट

बांग्लादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा अनुरोध गरेको छ।

बांग्लादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रुपैयाँ अनुरोध गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बांग्लादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ (कूटनीतिक नोट)मार्फत यो अनुरोध गरिएको बताए।

“हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारसँग भने।

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो। विरोध र झडपका क्रममा ६ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

हसिना भारत भागेपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बांग्लादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाएकी थिइन्। उनले विद्यार्थीको प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिइएको समेत बताएकी थिइन्।

युनाइटेड किंगडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीको सबै माग पूरा भए पनि देशभर अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएकी थिइन्।