हेटौँडामा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

हेटौँडा उपमहानगर–१ तिरतिरे धारास्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बागमती– हेटौँडा–भैँसे सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

हेटौँडाबाट काठमाडौँ जाँदै गरेको  बीआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१  चौकीटोल निवासी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए। सोही दुर्घटनामा परी स्कुटरमा पछाडि सवार सोही ठाउँका २५ वर्षीया बबिता लामा घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने कार र चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण निवासी २४ वर्षीय सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।