बालकोट प्रकरण : बुबा र भाइको हत्या गरेको रूपेशले स्वीकारे

बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको रूपेशले स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।

भक्तपुर– सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रूपेशले गरेको पाइएको छ। पक्राउपछि रूपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो। हत्यापछि फरार रहेका रूपेशलाई प्रहरीले मंगलबार महाराजगन्जबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका रूपेशसँग बयान लिने कार्य जारी रहेको छ। उनलाई भक्तपुर प्रहरी परिसर पठाएको उनले बताए।

“प्रारम्भिक अनुसन्धान र बयान क्रममा बुबा र भाइको हत्या कुलप्रसादकै जेठा छोरा रूपेशले नै गरेको पाइएको छ। बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको उनले स्वीकार गरेका छन्। यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार बुबा र भाइको शनिबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर रुपेश स्कुटरमा फरार भएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरले मंगलबार उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मंसिर २८ गते बिदा लिएर छोराहरू बस्दै आएको स्थान बालकोट आएका थिए।