बाढीपहिरोले काभ्रेपलान्चोकका ३३०० निजी आवासमा क्षति,

काभ्रेपलान्चोकका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन्।

काभ्रेपलान्चोक– भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार जिल्लाका तीन हजार ३३८ निजी आवासमा क्षति पुगेको छ।

कुल क्षति पुगेको निजी आवासमध्ये दुई हजार ५७७ घर पूर्ण रूपमा क्षति भएका छन्। ७५१ घरमा आंशिक क्षति पुगेको छ। त्यसैगरी ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन्। कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्ण रूपमा क्षति पुगेको छ भने १३५ वटामा आंशिक क्षति पुगेको छ। 

आठ सार्वजनिक भवन पूर्ण क्षति भएका छन् भने १३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन्। घर पूर्ण रूपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा ६२९, नमोबुद्ध नगरमा ४८९, रोशीमा ३५० र तेमालमा ४३९ घर छन्।

त्यसैगरी चौरीदेउराली गाउँपालिकामा १३४, भुम्लुमा १२२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ। जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा नौ, खानिखोलामा र बेथानचोकमा ५/५ घरपरिवार छन्।

बाढीपहिरोबाट काभ्रेपलान्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना बेपत्ता छन्। जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरणअनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताए।

उनका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। “केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ,” ढकालले भने।