करिब दुई हजार वर्षअघि चिनियाँ तीर्थयात्री ह्युएन साङले सुन्तला र कागती पाकेको याममा नेपाललाई देखेपछि ‘सुनौलो फलफूलको देश’ भनेर उल्लेख गरेका थिए।
हामी जाडो मौसमलाई ‘सुन्तला, भोगटे, जुनार र मौसमको याम’ भन्ने गर्छौं। गोला फलका दाना, औसत पातला बोक्रा र स्वादिला केस्रा भएका विभिन्न किसिमका फलफूललाई अंग्रेजीमा ‘सिट्रस फ्रुट्स’ भनिन्छ भने नेपालीमा कसैले ‘सुन्तला जातिका फलफूल’ त कसैले ‘कागती जातिका फलफूल’ भन्ने गर्छन्। हामी सिट्रस फललाई सुन्तला/कागती जातिका फलफूल भनेर बुझ्छौँ। यसमा लेखमा सुन्तला/कागतीलाई छोटकरीमा ‘सुका’ उल्लेख गर्नेछौँ।
मुख्यतः उष्णदेखि समशीतोष्ण कटिबन्धीय क्षेत्रमा पाइने सुका जातिका फलफूल पुष्पजन्य बिरुवाको वर्गमा पर्छन्। सुका जातिका फलफूल दुई वा दुईभन्दा धेरै प्रजातिको वर्णशंकर (क्रस ब्रिड) बाट वा संकरीकरण (हाइब्रिडाइजेसन) विधि अपनाएर बनेका वा बनाइएका ठिमाहा प्रजाति धेरै पाइन्छन् र यिनीहरूको यकिन संख्या कति छ भन्ने कुरा स्पष्ट छैन। यद्यपि काट्ज र वीभरले सन् २००३ मा ‘इन्साइक्लोपेडिया अफ फुड एन्ड कल्चर’मा संसारभर १७० प्रजाति भएको उल्लेख गरेका छन् भने तिनका प्रकार झन्डै एक हजारभन्दा धेरै छन्।
नेपालमा सुका जातिका फलफूलको कुल संख्या १५ छ (हेर्नुस् चित्र नम्बर १)। यीमध्ये ८ प्राकृतिक प्रजाति हुन् भने ७ ठिमाहा प्रजाति हुन्। नेपालमा पाइने प्रजाति कागती, काठे ज्यामिर, कालो ज्यामिर, किप, तितो कागती (खासी पापेडा), चाक्सी, जुनार/मौसम, तीनपाते सुन्तला, निबुवा, पहाडे निबुवा, बिमिरो, भोगटे, मुन्तला, सनखत्रो र सुन्तला हुन्। देशका करिब ६४ जिल्लामा खेती हुने सुका जातिका फलफूलले कुल फलफूल उत्पादनको २२.३७ प्रतिशत भाग ओगटेको छ भने कुल फलफूल निर्यातको ३ प्रतिशत हिस्सा ओगटेको छ।
नेपाली कृषि २०२०/२१ को तथ्यांकअनुसार सुका जातिका फलफूल ५० हजार २३५ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ र तिनको कुल उत्पादन तीन लाख ११ हजार १८८ मेट्रिक टन छ। यद्यपि, नेपालको सम्पूर्ण खेती गरिने जमिनको क्षेत्रफलमध्ये जम्मा ३२ हजार १८८ हेक्टर मात्र उत्पादनशील छ।
सुका जातिका फलफूल सबैभन्दा धेरै उत्पादन गर्ने जिल्ला सिन्धुली, रामेछाप, स्याङ्जा, लमजुङ, तनहुँ, धनकुटा, तेह्रथुम, गोर्खा, सल्यान, पाँचथर, धादिङ, भोजपुर, कास्की, पाल्पा, खोटाङ, दैलेख, बैतडी, इलाम, मकवानपुर, डोटी, ताप्लेजुङ, रोल्पा, गुल्मी, उदयपुर, बागलुङ, रुकुम र डडेलधुरा हुन्।
उत्पत्ति र प्रयोगको इतिहास
ब्रिग्स र हेलेनले सन् २०१८ मा नेचर जर्नलमा प्रकाशन गरेका ‘डीएनए स्टोरी अफ ह्वाइन लाइफ फर्स्ट गेभ अस लेमन्स’ नामक आनुवंशिक अध्ययनमा सुका जातिका फलफूलको उत्पत्ति पूर्वी हिमालका फेद, आसाम (भारत), पश्चिमी युनान (चीन) र उत्तरी म्यानमारमा भएको उल्लेख छ। यद्यपि कसैले भने मुख्य उत्पत्ति क्षेत्र अलि फराकिलो भएको उल्लेख गरेका छन् र ती क्षेत्र दक्षिण एसिया, पूर्वी एसिया, दक्षिणपूर्वी एशिया, मेलानेसिया (अस्ट्रेलियाको उत्तर र उत्तरपूर्वीमा रहेका टापुहरू) र अस्ट्रेलियामा हुन्। यी क्षेत्रमा उत्पत्ति भएका फलफूल पछि मेलानेसिया (अस्ट्रेलियाको उत्तर र उत्तरपूर्वीमा रहेका टापुहरू) र अस्ट्रेलियाका साथै मध्यपूर्व, अफ्रिका, युरोप र अन्ततः पश्चिमी गोलार्ध (उत्तर र दक्षिण अमेरिका) मा फैलिएका हुन्।
सबैभन्दा पहिले चीनमा प्राचीन राजवंशले ८औँ वा ९औँ ईसा पूर्व शताब्दीतिर मुन्तला, भोगटे र युजु (सिट्रस जुनोस)को प्रयोग गरेका थिए भन्ने तथ्य प्राचीन पुस्तक ‘सी जींग’मा उल्लेख गरेको पाइन्छ। प्राचीनकालमा सुका जातिका फलफूललाई आत्म प्रतिष्ठा र नैतिक निष्ठाको प्रतीकको रूपमा लिने गरिन्थ्यो। कसैले त अन्धकार र पीडा हटाउन, आफूलाई पवित्र, शुद्ध, साहसी र महत्त्वाकांक्षी देखाउन सुका जातिका फलफूलको प्रयोग गर्ने गरेको पनि उल्लेख गरेको पाइन्छ।
भूमध्यसागरीय क्षेत्रमा भर्जिलद्वारा सम्भवतः ईसापूर्व ३७ भन्दा पहिले ‘द जर्जिक्स’ र डायोस्कोराइड्सद्वारा सन् ५०-७० मा लेखिएको ‘डी मटेरिया मेडिका’ पुस्तकमा सुका जातिका फलफूल र यिनको परम्परागत प्रयोगबारे उल्लेख छ। सबैभन्दा पहिलो विस्तृत लिखित र प्रमाणित अध्ययनको दस्ताबेज ‘मोनोग्राफ’ भने सन् ११७८ मा चीनका हान यान्झीद्वारा लेखिएको ‘जु लु’ हो। उक्त पुस्तकमा २७ प्रजातिका सुका जातिका फलफूलको विवरणका साथै तिनीको खेती गर्ने विधिबारे वर्णन छ। यद्यपि कागती, भोगटे र अमिलो सुन्तला १०औँ शताब्दीको आसपास अरब व्यापारीले भूमध्यसागरीय क्षेत्रमा, सुन्तला १५औँ शताब्दीदेखि १६औँ शताब्दीमा एशियाबाट प्राचीन इटालियन (जेनोज) र पर्तुगीले युरोपमा र पुनः उक्त सुन्तला स्पेनीद्वारा अमेरिकाको फ्लोरिडा ओसारपसार गरेका थिए। युरोपमा भने १७औँ शताब्दीदेखि मात्र सुन्तलाको खेती गर्न शुरू गरिएको थियो।
करिब २ हजार वर्षअघि चिनियाँ तीर्थयात्री ह्युएन साङले सुन्तला र कागती पाकेका याममा नेपाल देख्दा नेपाललाई ‘सुनौलो फलफूलको देश’ भनेर उल्लेख गरेका थिए। सबैभन्दा पहिले काठमाडौँ, ललितपुर र भक्तपुरका राजदरबारमा बगैँचा बनाउने परम्परा शुरू गरिए पनि सबैभन्दा पहिले रणबहादुर शाहले नुवाकोटको शेरा फाँटको दरबारमा फलफूल बगैँचा स्थापना गरेका हुन्।
सन् १९३७ मा कृषि विकास बोर्ड गठन भएपछि मात्रै नेपालमा व्यवस्थित बागवानी विकास गतिविधि शुरू भएको हो। पछि सन् १९५७ मा कृषि विभागलाई कृषि विकास बोर्डमा परिणत गरियो र गोदावरी, छाउनी र बालाजुमा बागवानी फार्म स्थापना भए। सन् १९६०-७३ मा बोर्डले १४ बागवानी फार्म स्थापना गर्यो, जसमध्ये १० फार्म अझै सञ्चालनमा छन्। यी फार्ममा कागती जातिका फलफूलको व्यापक खेतीका साथै खेती गर्ने विधि, फलफूलमा लाग्ने मुख्य किरा, रोग, परजीवी र तिनको व्यवस्थापनबारे अध्ययन-अनुसन्धान पनि हुँदै आएको छ।
नेपालमा पाइने सुका जातिका फलफूलको विस्तृत विवरण
तल विस्तृत चर्चा गरिएका विभिन्न फलफूल शुद्ध प्रजाति वा ठिमाहा प्रजाति हुन्। शुद्ध प्रजाति भन्नाले ती प्रजाति जुन आफैँ विकास भएका हुन्। ठिमाहा प्रजाति भन्नाले दुई वा दुईभन्दा धेरै प्रजातिबाट वर्णशंकर (क्रस ब्रिड) बाट वा संकरीकरण (हाइब्रिडाइजेसन) गरेर बनेका वा बनाइएका प्रजाति हुन्। विज्ञानमा यस्ता ठिमाहा प्रजाति सजिलै गरेर चिन्न सकियोस् भनेर यिनको वैज्ञानिक नामको बीचमा अंग्रेजीको ‘एक्स (×)’ चिह्न राख्ने परम्परा छ र यहाँ सोहीअनुसार नाम लेखेको छु।
नेपालमा पाइने सबै सुका जातिका फलफूलमध्ये सबभन्दा महत्त्वपूर्ण फल सुन्तला हो। सुन्तलाको वैज्ञानिक नाम सिट्रस रेटिक्युलाटा हो। सिट्रस रेटिक्युलाटा शुद्ध प्रजाति हो र यसको उत्पत्ति दक्षिण चीन र भियतनाममा भएको हो। यद्यपि यो प्रजातिलाई केहीले नेपालको रैथाने प्रजाति हो पनि भनेका छन्। तर यो गलत हो, किनकि यो नेपालमा मात्र पाइने प्रजाति होइन र रैथाने हुनका लागि नेपालको सीमाभित्र कुनै निश्चित ठाउँमा मात्र पाइने हुनुपर्छ।
सुन्तलालाई २०८० चैत ३० गते शुक्रबारका दिन बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फलको रूपमा घोषणा गरेको हो। सामान्यता सुन्तला गोलाकार र मीठो स्वादको हुन्छ। संसारमा कसैले सुन्तला तीन प्रजाति मात्र भएको उल्लेख गरेका छन् भने कसैले पाँच समूहमा विभाजन गरी ३६ प्रजातिको पहिचान गरेका छन्।
नेपालमा सुन्तला (सिट्रस रेटिक्युलाटा) का विभिन्न जातिको खेती हुने गरेको छ। ती जाति प्राय: उष्ण र उपोष्ण हावापानीमा उम्रने सुन्तलाका विभिन्न जातको नेपालमा खेतीपाती हुने गरेको छ। नेपालमा खेती गरिने सुन्तलाका करिब ४१ प्रकारका जाति छन्। विभिन्न जात र ठाउँअनुसार स्वाद र दानाका प्रकार फरक-फरक हुने गर्छन्। विभिन्न जातका सुन्तला निम्न प्रकारका छन्: अवाना, आओशिमाउंशु, इमामुरा उनशु, उन्शिउ (एनसीआरपी ०४), उन्सु, ओकित्सुवासे, ओटा पोनेन, ओत्सु-४, ओरोवल, कमला, कम्युन, कलामदारिन, कारा, किनो, किन्नू, कियोमी, क्लेमेन्टाइन, गोर्खाली सुन्तला, डान्सी, डेकोपुस्टन, थाई टङ्गारिन, धनकुटे खोकु, नुल्स, नोभा, पिक्सी, पेज, पोगन, फर्चुने, फ्रुट्रेल अर्ली, बाष्खर्क लोकल, मारिसोल, मियाउची इयो, मियागावासे, मियागावासे, मुर्कोट, यूआरएसएस सत्सुमा, योशिदा पोन्गान, सत्सुमा वासे, सिक्किमे, हर्नाडिना र हायाका।
सन् २०२० मा प्रकाशन भएको ‘एनोटेटेड चेकलिस्ट अफ द फ्लोवरीङ प्लान्ट्स अफ नेपाल’ किताबमा नेपालमा फूल भएका बिरुवाका सम्पूर्ण प्रजाति समावेश छन्। उक्त किताबले सुका जातिका फलफूलमा पर्ने एक मात्र खान नहुने तीतो जंगली प्रजाति खासी पपेडा पूर्वी नेपालमा करिब १७ सय उचाइमा पाइने उल्लेख गरेको छ। यसको नेपाली नाम नभएकोले गुण अनुसारको नामकरण गर्दा तीतो कागती भन्दा उपयुक्त हुन्छ। यो प्रजाति भारतको उत्तरपूर्वी राज्यहरू मेघालय, आसाम र नागाल्यान्डको खासी पहाडमा पर्ने शिलोङ टार, पिनुर्शा, मावफ्लाङ र चेरापुन्जी क्षेत्रमा फैलिएको छ। खासी भाषामा यसलाई सोह-सिर्खोइट भनेर चिनिन्छ भने सामान्यतया खासी पापेडा भनिन्छ।
तितो कागतीको वैज्ञानिक नाम सिट्रस ल्याटिपेस हो र यो अर्को प्रजाति सिट्रस हिस्ट्रिक्स जस्तै हुन्छ। यद्यपि सिट्रस हिस्ट्रिक्स भने आसामदेखि पूर्व इन्डोनेसियासम्म पाइन्छ। तीतो कागतीको रूख ९ मिटरभन्दा अग्ला र पात अत्यन्त घना हुन्छन्। फल र बीउ दुवै ठूला हुन्छन्। यो प्रजाति लोपोन्मुख र लोप हुने खतराको सूचीमा रहेको छ।
चाक्सीको वैज्ञानिक नाम सिट्रस लिमेटियोइड्स हो। उत्तर पूर्वी भारतमा उत्पन्न भएको यो प्रजातिको रूख मध्यमदेखि ठूलो आकारका र बेस्सरी फैलिएका हुन्छन्। यो प्रजातिका फूल शुद्ध सेतो रंगका र फलका दाना साना र अलिकति गोलाकार हुन्छन्। फलको रस अरू प्रजातिभन्दा भिन्न र कम अम्लीय तत्त्व हुने हुनाले अंग्रेजीमा यसलाई स्विट लाइम भनिन्छ।
तीनपाते सुन्तलाको वैज्ञानिक नाम सिट्रस ट्राइफोलियाटा हो र यो प्रजाति दक्षिणी चीनमा उत्पन्न भएको हो। यसको बोट ६ मिटरमा पुग्न सक्छ र काँडा ५ सेन्टिमिटरसम्म हुन्छन्। तीनपाते सुन्तलाका दाना परम्परागत सुन्तलाभन्दा अलि सानो हुन्छ। स्वाद कागती र सनखत्रोको मिश्रणजस्तो हुन्छ। नेपालमा खेती गरिने तीनपाते सुन्तलाका जाति पोमेरोय, फ्लाइङ ड्रागन र रुबिड हुन्।
पहाडे निबुवाको वैज्ञानिक नाम सिट्रस स्यूडोलिमोन हो र यो प्रजाति भारतको आसाममा उत्पत्ति भएको हो। यो विशेषतः १ हजार मिटरदेखि २ हजार मिटरसम्म उम्रन्छ। अमिलो स्वादको यो फल मान्छेले ज्यादा रुचाउने फलमा पर्दछ।
बिमिरोको वैज्ञानिक नाम सिट्रस मेडिका हो। यो प्रजातिको उत्पत्तिको क्षेत्र दक्षिण पूर्व एशिया हो। एशियाको सबैभन्दा पश्चिमी क्षेत्रमा बिमिरोको खेती शुरू भएको हो।
भोगटेको वैज्ञानिक नाम सिट्रस म्याक्सिमा हो। यो प्रजातिलाई सिट्रस डेकुमाना वा सिट्रस ग्रान्डेस पनि भनिन्छ। यसको उत्पत्ति पनि दक्षिण पूर्व एशियाली क्षेत्रमा भएको हो र त्यहाँ करिब ४ हजार वर्ष पहिलेदेखि खेतीपाती गर्न शुरू गरिएको अनुमान गरिन्छ। नेपालमा खेती गरिने भोगटेका जातिहरू रोइ, फुलट्राक, फोडीअम, वनपैयुँ, कवाचीबनकान, थाई पोमेलो हुन्।
मुन्तलाको वैज्ञानिक नाम सिट्रस जापोनिका हो। यो प्रजातिलाई फोर्टुनेला मार्गारीटा पनि भनिन्छ र यसको उत्पत्ति दक्षिणी चीनमा भएको हो। मुन्तालाका दाना अत्यन्त साना, अन्डाकारदेखि गोलाकार, चम्किला, मीठा र कडा हुन्छन्।
कागतीको वैज्ञानिक नाम सिट्रस × अरन्टिफोलिया हो। यो तीन विभिन्न प्रजातिहरू बिमिरो, भोगटे र माइक्रोसिट्रस प्रजातिको वर्णशंकरबाट बनेको ठिमाहा प्रजाति हो। धेरैले कागती दक्षिणपूर्वी एशियाको सम्भवतः इन्डोनेसिया र मलेसियामा उत्पन्न भएको हुनसक्ने अनुमान गरेका छन् र कसैले पूर्वी र उत्तरपूर्वी भारत, उत्तरी म्यानमार र दक्षिण पश्चिम चीनमा पनि उत्पन्न भएको हुन सक्ने कुरा औँल्याएका छन्। नेपालमा धेरै खेती गरिने जाति सुन कागती-१, सुन कागती-२, लोकल र मद्रासी हुन्।
काठे ज्यामिरको वैज्ञानिक नाम सिट्रस × जम्भीरी हो। सुन्तला (सिट्रस रेटिक्युलाटा) र बिमिरो (सिट्रस मेडिका) को वर्णशंकरबाट बनेको यो प्रजाति उत्तर-पूर्वी भारतमा अझै पनि जंगली अवस्थामा पाइने भएकोले उक्त क्षेत्रको यसको उद्गम क्षेत्र हो।
कालो ज्यामिरको वैज्ञानिक नाम सिट्रस × जुनोस हो। यो सुन्तलाको ठिमाहा प्रजाति सिट्रस रेटिक्युलाटा प्रकार अस्टर र अर्को सुन्तला प्रजाति सिट्रस इचेन्जेन्सिसबाट बनेको हो। यो यकिन रूपमा कहाँबाट र कहिले उत्पन्न भयो भन्ने निर्क्योल नभए तापनि अन्य विभिन्न कागती जातिका फलफूलजस्तै यसको उत्पत्ति पनि उत्तर भारत, उत्तर म्यानमार, दक्षिण पूर्व एशिया र दक्षिण चीन (युनान प्रान्त) स्थित हिमालयको फेदबाट भएको मानिन्छ।
कीपको वैज्ञानिक नाम सिट्रस × और्यान्टीअम हो। यसलाई सिट्रस नोबिलिस पनि भन्ने गरिन्छ। यो सुन्तला (सिट्रस रेटिक्युलाटा) र भोगटे (सिट्रस म्याक्सिमा) को संकरीकरणबाट बनेको प्रजाति र यसको उत्पत्ति उष्णकटिबन्धीय एसिया हो। नेपालमा टान्गारिन, उनसियु र सात्सुमा जातिको खेती गरिन्छ।
जुनार/मौसमको वैज्ञानिक नाम सिट्रस × साइनेन्सिस हो। यो कुनै ठिमाहा सुन्तला (सिट्रस रेटिक्युलाटा) को कुनै प्रकार र ठिमाहा भोगटे (सिट्रस म्याक्सिमा) को कुनै प्रकार बीचको उद्देश्यपूर्ण वर्णशंकर हो। यो मूल रूपमा भारत, भियतनाम र दक्षिण-पूर्वी एशियाबाट उत्पत्ति भएको हो। सबैभन्दा पहिले यो प्रजातिलाई खानाको स्रोतको रूपमा खेती गरिएको थियो। स्वादिलो जुनार हाल संसारको उष्ण कटिबन्धीय क्षेत्रमा खेती गरिन्छ।
नेपालमा खेती गरिने विभिन्न जातिका जुनार धेरै छन्। अत्यधिक खेती गरिने ३२ जुनार जाति निम्न प्रकारका हुन्: कारा कारा, कियोमी, टोम्यांगो, डेलिसस सिडलेस, धनकुटे जुनार, नाभालेन्सिया, नेपाली जुनार, न्यु ताराको, न्यु भ्यालान्सिया, न्युहल नाभेल, पाइनएप्पल, फुरुवारा-१, फुरुवारा-४, ब्लड रेड, भेनिली, भ्यालान्सिया लेट, मदामे भीनस, माल्टा ब्लड रेड, माल्टा रेड ब्लड, मेस्ह्यु-९, मोसाम्बी, योसिदा नाभेल, रुबी, लेन लेट, वासिंटन नाभेल, व्हाइट टेकर, सागे बोनान्जा, सामुती, सालुतसियाना, सुक्कारी, सेवेल्ली कमन र हाम्लिन।
निबुवाको वैज्ञानिक नाम सिट्रस × लिमोन हो। यसलाई सिट्रस × बरगामिया पनि भनिन्छ। यो बिमिरो (सिट्रस मेडिका) र कीप (सिट्रस × और्यान्टीअम) बाट बनेको हो। निबुवाको बोट सानो र सदाबहार हुन्छ। यसको उत्पत्ति क्षेत्र उत्तरपूर्वी भारत हो।
नेपालमा सबैभन्दा खेती गरिने निबुवाका जाति चश्मे कागती, युरेका, पन्त-१ निबुवा, धनकुटे, थिमुरा लोकल, बीआरटी निबुवा, प्रेमवस्ती लोकल र लिस्बोन हुन्।
सनखत्रोको वैज्ञानिक नाम सिट्रस × प्याराडिसी हो। यो १८औँ शताब्दीमा बार्बाडोस टापुमा जुनार/मौसम (सिट्रस × साइनेन्सिस) र भोगटे (सिट्रस म्याक्सिमा) बीचको आकस्मिक रूपमा वर्णशंकर गरी विकास गरिएको प्रजाति हो। जुनार-मौसम र भोगटे दुवै १७औँ शताब्दीमा एशियाबाट ल्याइएका थिए। यो धेरै रस भएको र स्वादिलो भएकाले चीन, अमेरिका र दक्षिण अफ्रिकामा व्यापक रूपमा खेती गरिन्छ। नेपालमा खेती गरिने सनखत्रोका जातहरू साम्बार, हेन्डेसन, स्टार रुबी, रिड र पिंक रुबी हुन्।
सुका जातिका फलफूलको प्रयोग र फाइदा
नेपालमा जंगली रूपमा पाइने तीतो कागती (खासी पापेडा) बाहेक सबै सुका जातिका फलफूलको यथेष्ट मात्रामा खेतीपाती गर्नुको उद्देश्य मुख्यतः खान र आर्थिकोपार्जन गर्न हो। केही फलफूल परम्परागत हिसाबले औषधिका रूपमा पनि प्रयोग गरिन्छन्। सन् २००२ मा प्रकाशित नारायणप्रसाद मानन्धरको ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’का अनुसार किपले तागत दिनुका साथै पेट दुखेको र दुखेको ठाउँ लट्ठ्याउने गर्छ। बिमिरोले पनि पेटको दुखाइ कम गर्नुका साथै आउँ परेको ठिक गर्छ। निबुवा र कागतीको रसले केही रङमा निखार ल्याउने र दाग हटाउने काममा व्यापक प्रयोग हुन्छ।
सुका जातिका फलफूलका बोक्राबाट अत्यावश्यक तेलका साथै खाना, पेय र औषधि बनाउन प्रयोग गरिन्छ। बोक्राका तेल विशेष गरी छालाको स्वास्थ्यसँगै साबुन, सौन्दर्य प्रसाधन र घरायसी उत्पादन, सुगन्धित अत्तर र कपालको लागि प्रयोग प्रयोग गरिन्छ। फलको बोक्रालाई कहिलेकाहीँ मसलाको रूपमा पनि प्रयोग गरिन्छ।
सुका जातिका फलफूलको छुट्टै स्वाद, स्वाद र सुगन्ध पाइन्छ। यिनमा मुख्यतः भिटामिन सी, फिनोलिक्स र अन्य धेरै रासायनिक तत्त्व पाइने हुँदा यी लोकप्रिय छन्। भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। यसले छालालाई फाइदा पुर्याउने, हड्डी र नसाहरू बलियो बनाउँछ। भिटामिन सीमा रोग प्रतिरोधात्मक गुण (एन्टिअक्सिडेन्ट) हुने भएकाले जीव कोशिकामा फाइदा पुर्याई जीउ सुनिनबाट पनि जोगाउँछ। त्यसैले भिटामिन सीले केही प्रकारका क्यान्सर र हृदय रोगको न्यूनीकरणमा फाइदा पुर्याउँछ।
विभिन्न सुका जातिका फलफूलमा पाइने रेसा (फाइबर) ले हाम्रो शरीरलाई फाइदा पुर्याउनुका साथै कम घनत्वको लिपोप्रोटिन (एलडीएल) वा खराब कोलेस्ट्रोलको स्तर घटाएर हृदय रोगको जोखिम कम गर्छ। फाइबरले पाचन प्रणाली सुधारेर कब्जियतलाई कम गर्न मद्दत गर्छ।
सुका जातिका फलफूलमा हेस्पेरिडिन, हेस्पेरेटिन, नारिन्जिन, नारिन्जेनिन, डायोस्मिन, क्वेर्सेटिन, रुटिन, नोबिलेटिन, ट्याङ्गेरेटिनजस्ता अन्य फ्लेभोनोइड समूहका रासायनिक तत्त्व र अन्य रसायन फिनोल, क्यारोटीनोइड्स, फाइटोएस्ट्रोजेन र सल्फाइड पाइन्छन्। यी रसायनमा सूक्ष्म हानिकारक जीव र हानिकारक ढुसीसँग लड्ने क्षमता हुन्छ। केही अनुसन्धानले फ्लेभोनोइडले स्मरण शक्ति बढाउँछ र शरीरका तन्तु नाश हुनबाट जोगाउने देखाएको छ।
सुका जातिका फलफूलका रसले ग्लुकोज सहिष्णुतामा सुधार गरी इन्सुलिन स्राव र संवेदनशीलता बढाउँछ र इन्सुलिन प्रतिरोध घटाएर मधुमेह भएकालाई फाइदा पुग्छ। नियमित रस पिउनाले शरीरको मोटोपना कम गर्न यथेष्ट फाइदा पुग्नुका साथै मिर्गौलाको पत्थरी रोक्न पनि मद्दत पुग्छ। फाइदाजनक सुका जातिका फलफूललाई हाम्रो दैनिक आहारमा समावेश गर्न उचित हुन्छ। यसो गर्नाले हाम्रो शरीरलाई विभिन्न रोगसँग लड्न ऊर्जा र पोषक तत्त्व प्राप्त हुन्छ।
यद्यपि, केही मानिसका लागि यी फलफूलले एलर्जी पनि गर्न सक्छन् भन्ने दुर्लभ रिपोर्ट पाइन्छन्। कसैको छाती पोल्ने गर्छ भने कहिलेकाहीँ सुन्तला खानाले वा जुस पिउनाले त्यस्ता लक्षण बढ्ने गर्छन्। यस्ता फलफूल खानाले कहिले ओठ, जिब्रो र घाँटीमा तीव्र झन्झनाहट हुने, चिलाउने साथै ओठ अनि गिजा रातो हुने र हल्का सुनिन पनि सक्छ। रक्तचाप कम गर्नेजस्ता केही किसिमका औषधि र फलफूलमा पाइने पोषक तत्त्व पोटासियमसँग मिसिन गई नकारात्मक असर देखा पर्ने हुनाले सावधानी अपनाउनुपर्छ।
(रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा कार्यरत छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
