लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्जस्थित महेन्द्र रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुनेछन्।

नेपालगन्ज– नेपालगन्जमा आगामी फागुन १९ देखि लुम्बिनी कप महिला फुटबल हुने भएको छ। 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्जस्थित महेन्द्र रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई प्रतियोगिता सञ्चालनका लागि सोमबार पत्रमार्फत फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। 

यस प्रतियोगिताले नयाँ प्रतिभा आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए।

यसअघि मंसिर १६ गते नेपाली महिला फुटबल टिमकी पहिलो क्याप्टेन रमा सिंह र क्याप्टेन एन्जिला तुम्बापो सुब्बाले संयुक्त रूपमा काठमाडौँमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए। लोगोमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध, महिला फुटबल खेलाडीको तस्वीर तथा नेपाली राष्ट्रिय झण्डाको रङ नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ। 

सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका लागि  महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिँदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रूप लिन लागेको बताए। 

“लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित छ,” शाहले भने, पश्चिम नेपालकै  पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ।” 

उनले प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सबैलाई अपिलसमेत गरेका छन्।