तराईका विभिन्न स्थानमा हुस्सु, काठमाडौँ उपत्यकामा आंशिक बदली हुने

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ। मध्याह्नतिर यो हट्ने छ। साथै मंगलबारको तुलनामा मौसम सफा रहनेछ। यहाँ बिहानको तापक्रम ७.५ मापन गरिएको छ। अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ ।

तराई तथा उपत्यकाका केही स्थानमा हुस्सुका कारण स्वास्थ्य, यातायात, उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ।