उत्तर कोरियाली सेनाले युद्धमा उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक रुससँगको सीमा क्षेत्रमा कार्यरत छन्।

रुसी क्षेत्र कुर्स्कमा रुसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धका क्रममा ठूलो असर नपरेको युक्रेनले जनाएको छ। 

“युद्धमा उत्तर कोरियालीको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन,” युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर) का प्रवक्ता येवगेन येरिनले भने, “यो त्यति सैनिकहरूको ठूलो संख्या होइन।

उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनको भनाइ छ। उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त रहेको छ। 

“उनीहरूले पनि सिकिरहेका छन् तर हामी शत्रुलाई कम आँक्न सक्दैनौँ। हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै चीजहरू ध्यानमा राखिरहेका छन्,” उनले भने। 

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन्। रुस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताएका थिए।