संसदीय दलको नेतामा सघाउन आग्रह गरेका पौडेललाई देउवाले भने– ‘पछि सल्लाह गरौँला'

कांग्रेस नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई संसदीय दलको नेता चयनका लागि सघाउन आग्रह गरेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा सघाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पौडेलले देउवालाई यस्तो आग्रह गरेका हुन्। 

"म एउटा रिसेप्सनको निम्तो दिन गएको हुँ। त्यही क्रममा समसामयीक विषयमा कुराकानी भएको हो”, देउवासँगको भेटबारे पौडेलले भने, “उहाँले यसबारेमा पछि सल्लाह गरौँला भन्नुभयो।’ 

नेता पौडेलले जापानले दिएको सम्मानको उपलक्ष्यमा सांसदहरूलाई रिसेप्सनको आयोजना गरेका छन्। देउवालाई सोही कार्यक्रमको निम्तो दिन उनी प्रधानमन्त्री निवास पुगेका थिए। पौडेलले आफूले शुरूदेखि नै संसदीय दलको नेताका लागि सबैलाई आग्रह गरिरहेको भन्दै पार्टी सभापतिलाई पनि सोही आग्रह गरेको बताए। 

संसदीय दलको नेता चुनिएर छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाका सामू पार्टीभित्र नै धेरै नेताहरू दलको नेता बन्ने कसरतमा लागेपछि सर्वसम्मत नेता चयन हुन चुनौती देखिएको छ। वरिष्ठ नेता पौडेलदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापाले दलको नेताका लागि तयारी गरिरहेका छन्। सत्ता गठबन्धनमा अबको सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा मिलिसकेको छैन।