मस्कलाई पछार्दै आर्नल बने विश्वकै धनी व्यक्ति

यसअघि विश्वकै धनी व्यक्तिका रूपमा रहेका एलन मस्क दोस्रो स्थानमा पुगेका छन् भने तेस्रो स्थानमा भारतका गौतम अडानी रहेका छन्।

केही समययता विश्वकै धनी व्यक्ति बनेका एलन मस्क अब दोस्रो नम्बरमा झरेका छन्। उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयर मूल्यमा उल्लेख्य गिरावट आएसँगै उनको सम्पत्ति मूल्यांकन घटेको हो। 

मस्क टेस्लाका प्रमुख कार्यकारी र त्यसको सेयरको ठूलो हिस्साका मालिक हुन्। टेस्लामा मस्कको १४ प्रतिशत सेयर हिस्सा छ। सेयर मूल्यमा भारी गिरावट आएसँगै उनको कूल सम्पत्ति १७६ अर्ब डलरमा झरेको छ। यसै कारण उनी विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीबाट दोस्रो स्थानमा पुगेको फोर्ब्स र ब्लुमबर्गले जनाएका छन्। यसअघि ट्विटर किन्नुअघि मस्कको कूल सम्पत्ति १८५ अर्ब डलर थियो।

योसँगै फ्रान्सका धनाढ्य व्यापारी तथा लगानीकर्ता ७३ वर्षीय बर्नाड आर्नल विश्वकै धनी व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार उनको कूल सम्पत्ति १८८ अर्ब डलर छ। आर्नल विश्वविख्यात डिजाइनर कम्पनी लुई भिटोन र सुन्दरताका सामग्री निर्माता कम्पनी सफोराका मालिक हुन्।

मस्कले केही समय अघि ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। त्यसका लागि उनले टेस्लाको सेयर बेचेका थिए। धेरैले ट्विटरको खरिद मूल्य पनि अत्यधिक रहेको बताएका थिए।

कानूनी झमेला र मस्कको आफ्नै निर्णयका कारण ट्विटरको खरिद सम्झौता महिनौँपछि मात्र सकिएको थियो। कतिपयले ट्विटरको खरिद प्रक्रियालाई पनि टेस्लाको सेयर मूल्य घटाउने कारकका रूपमा लिएको बीबीसीले उल्लेख गरेको छ।

ट्विटर किन्ने उनको निर्णय टेस्लाको सेयर मूल्यका लागि भारी परेको वेडबश सेक्युरिटीका लगानीकर्ता डान इभ्सको भनाइ छ। उनी भन्छन्, “उनका प्रत्येक ट्विटका साथ ओभरह्यांग बढ्दै जाँदा उनी सुपरहिरोबाट टेस्लाको सेयर मालिकमा सीमित भए र सेयर बजारको नजरमा खलनायक बने।” 

ट्विटरको नाटकले मस्कको ब्रान्ड विशेष गरी टेस्लाको सेयरमा क्षति पुग्यो। मस्क नै टेस्ला हुन् र टेस्ला नै मस्क हो। ट्विटर किन्नकै लागि टेस्लाका अर्बौ डलर बराबरका सेयर बिक्री गर्ने उनको निर्णयले सेयर घटाएको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीको अर्थतन्त्र कमजोर बनेको, उधारो लागत उच्च बन्दा खरिदकर्तालाई निरुत्साहित गर्ने र अन्य इलेक्ट्रिक कार निर्माता कम्पनीले आफ्ना सुविधा वृद्धि गरिरहेकाले टेस्ला कारको माग घट्नेप्रति लगानीकर्ताको चासो देखिएको छ।

टेस्ला कारका पाटपुर्जाको सुरक्षा चासोका साथै, कारमा भएको अटोपाइलट मोडका कारण दुर्घटना बढेको प्रति सरकारले निगरानी गर्ने विषयले पनि टेस्लाको साख दिनप्रतिदिन घट्दै गएको आकलन गरिएको बीबीसीले उल्लेख गरेको छ।

फोर्ब्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा भारतका गौतम अडानी, चौथोमा अमेरिकाका जेफ बेजोस, पाँचौँमा अमेरिकाका बारेन बफेट छन्।

यसअघि संसारकै धनी व्यक्तिको सूचीमा रहेका बिल गेट्स हाल सर्वाधिक धनीको सूचीको छैटौँ नम्बरमा छन्। उनको कूल सम्पत्ति १०६ अर्ब अमेरिकी डलर छ।

सूचीको सातौँ नम्बरमा अमेरिकाका ल्यारी इलिसन, आठौँमा भारतका मुकेश अम्बानी छन्। अम्बानीको कूल सम्पत्ति साढे ९२ अर्ब डलर रहेको छ। यस्तै, नवौँमा अमेरिका लेरी पेज र अमेरिकाका स्टिभ बलमर सर्वाधिक धनी व्यक्तिहरूको सूचीको दशौँ स्थानमा छन्। 

-एजेन्सीको सहयोगमा