भोजपुरमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ३ जनालाई काठमाडौँ पठाइयो

भोजपुरको बोखिममा भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

भोजपुर– जिल्लाको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप बिहीबार बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटनामा परेको हो।

दुर्घटनामा जिपमा सवार ११ जना घाइते भएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

उनले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई घाइते भएको जानकारी दिए। 

त्यस्तै, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदीप लिम्बू, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका छन्।