पश्चिमी न्यून चापीय प्रणालीले शुक्रबारदेखि मौसममा बदली, हल्का वर्षा र हिमपातको सम्भावना

विभागले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।

काठमाडौँ– पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालका धेरै स्थानको मौसममा बदली रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार अपराह्न विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा शुक्रबार र शनिबार हिमपातको सम्भावना रहेको जनाएको हो।

विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली रहने छ।

सो प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा तथा गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

त्यस्तै, सुदूरपश्चिम र कर्णालीका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

उक्त मौसम प्रणालीको असरले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।