देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण शुक्रबार साँझदेखि नेपालका धेरै स्थानको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा शुक्रबार र शनिबार हिमपातको सम्भावना छ। अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ। 

त्यस्तै, सुदूरपश्चिम र कर्णालीका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, बागमती, मधेश र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।