माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ छ।

सर्लाही– यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरुल खन्न भ्याइनभ्याइ छ। उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरुल लगाएका छन्। 

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरुल बेचिसक्ने उनको योजना छ। “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ”, उनले भने, ‘‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ।” तरुल स्वास्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यस बेला मूल्य बढ्ने गरेको छ।

दलबहादुरझैँ यहाँका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्न भ्याइनभ्याइ छ। बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ। “बगरको खेती सुन जस्तै बनेको छ”, उनले भने, “तरुल उत्पादनबाट मनग्य आम्दानी हुन्छ।”

तरुलखेती गरेका बागमती नगरपालिका–४ जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताए। खड्काले पनि एक बिघामा तरुल लगाएका छन्।

यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन्। आकाशे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४, जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताए। अर्को पत्ताले अर्थात् रातो जातको तरुल भने उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महँगो उनको भनाइ छ। 

यहाँका किसानले प्रतिबिघा ८० देखि १२० क्विन्टलसम्म तरुल फलाउने गरेका छन्। यस वर्ष छठको समयमा तरुल प्रतिकिलो १२० रुपैयाँसम्ममा बिक्री भएको थियो। हाल बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काले बताए। यस वर्ष व्यापारी खड्का २० बिघाको तरुल बजार लैजाने तयारीमा छन्। 

उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाएका छन्। जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उनले बताए। तरुलखेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी आठ हजार रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ। तरुलखेतीबाट किसानले प्रतिकट्ठा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ। सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन्। त्यसकारण बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ।